
काठमाडौं । एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक)ले पनि अबदेखि रातो पासपोर्ट (कूटनीतिक राहदानी) पाउने भएका छन् ।
सरकारले राहदानी नियमावलीको दोस्रो संशोधन गरेसँगै नेपाल र सशस्त्र प्रहरीका एआईजीले रातो पासपोर्ट पाउने भएका हुन् । नियमावली संशोधनसँगै रातो पासपार्ट पाउने सूचीमा एआईजी पनि थपिएका छन् ।
रातो पासपोर्ट पाउने सूचीमा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य निर्देशक तथा नेपाली सेनाका उपरथीसमेत थपिएका छन् । यसअघि नेपाल सरकारका सचिव, नेपाली सेनाका प्रधान सेनापति र रथी तथा प्रहरीका महानिरीक्षकसम्मले मात्रै रातो पासपोर्ट पाउने गरेका थिए ।
सरकारले विशेष अवस्थामा साधारण तथा अस्थायी पासपोर्ट दिने व्यवस्थासमेत संशोधन गरेको छ । विभिन्न कारणले देशमा राहदानी हराएमा, नासिएमा वा अन्य कारणले जारी गरिने एकतर्फी यात्रा अनुमतिपत्रको अवधि ५ महिना कायम गरिएको छ ।


























