
विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–१ जाँते मोडमा आइतबार दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । युवती घाइते भएकी छन् ।
पानी बोकेर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ३५९२ नम्बरको पिकअप गाडीले पश्चिमतर्फ नै आउँदै गरेको प्रदेश १–०२–०५५ प ७३८ मोटरसाइकललाई बिहान ११ः२० बजेतिर ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित बनेको मोटरसाइकल पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१६३ नम्बरको बसमा ठोक्किएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का २८ वर्षीय रमेश खड्काको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्याउनसाथ चिकित्सकले दिउँसो १२ः२५ बजेतिर मृत घोषित गरेको दाहालले बताए ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुरको चौदण्डीगढी नगरपालिका–२ की २४ वर्षीया कृष्णकुमारी खड्का घाइते भएकी छन् । उनको न्युरो अस्पतालमै उपचार भइरहेको जानकारी डीएसपी दाहालले दिए ।
दुर्घटनालगत्तै पिकअप चालक झापाको दमक नगरपालिका–५ का ५१ वर्षीय युवराज आचार्य र बस चालक झापाको मेचीनगर नगरपालिका–८ का ५६ वर्षीय अमरबहादुर माझीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । तीनवटै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन् ।
दुर्घटनापछि आक्रोसित भएका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरोध गर्न खोजेका थिए । इन्स्पेक्टर खगेन्द्र एक्तेन नेतृत्वको टोलीले भिडलाई सम्झाइबुझाइ गरेर पठाएको थियो ।

























