
काठमाडौं । आइतबार निधन भएका पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको पार्थिव शरीरलाई ज्ञानेश्वरस्थित सानो गौचरण पुर्याइएको छ ।
श्रद्धाञ्जलीका लागि शवलाई त्यहाँ पुर्याइएको हो । ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार दिउँसो निधन भएको थियो । उनी लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट पीडित थिए ।
यसअघि पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो । उनीप्रति प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिले श्रद्धाञ्जली प्रकट गर्ने कार्यक्रम छ ।
सानो गौचरणमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा ढुंगानाको अन्त्येष्टि गरिनेछ । नेपाल सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहेका उनले मुलुकमा शान्ति प्रक्रियाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
राजनीति क्षेत्रमा देखिएका विकृति र विसंगतिबारे स्पष्ट र खरो रूपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान र कानुनका ज्ञाता हुन् । नेपालको संसदीय व्यवस्था, प्रजातान्त्रिक मूल्य मान्यताको संस्थागत विकासदेखि कानुनी क्षेत्रमा उनको अतुलनीय योगदान छ ।

























