
काठमाडौं । नेपालका प्रधान सेनापति र भारतका स्थल सेना प्रमुखबीच आज (बिहीबार) औपचारिक वार्ता हुँदै छ ।
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र भारतका सेनाध्यक्ष उपेन्द्र द्विवेदी वर्ता हुन लागेको हो । द्विवेदी ५ दिने भ्रमणका लागि हिजो (बुधबार) नेपाल आएका छन् ।
लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिक प्रमुखबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर द्विदेशीय एवं द्विपक्षीय वार्ता हुन लागेको सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए । उनका अनुसार वार्ता जंगी अड्डामै हुने छ ।
द्विवेदीले आजै राष्ट्रपति रामचन्द्र पौडेलका हातबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गर्ने छन् । द्विवेदी गत असार १६ गते भारतको सेनाध्यक्ष नियुक्त भएका हुन् । उनले अहिले गरेको नेपालको पहिलो औपचारिक भ्रमण हो ।
द्विवेदीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ । सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।
खुला सिमाना, समान धार्मिक, सांस्कृति एवं भूगोलले शताब्दीऔँदेखि दुई मुलुकबीचको सम्बन्धलाई अझ सुमधुर तुल्याएको छ । द्विवेदीको भ्रमणले त्यसलाई झन् उचाइमा पुर्याउने विश्वास लिइएको छ ।

























