फाइल फोटोविराटनगर । मोरङको बूढीगंगामा बिहीबार बिहान १० बजेतिर मानव कंकाल फेला परेको छ ।
बूढीगंगा गाउँपालिका–५ स्थित सांग्रिला चप्पल फ्याक्ट्री अगाडिको धान खेतमा कंकाल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार उबेदा खातुनले लगाएको धान खेतमा छरपस्ट अवस्थामा कंकाल भेटिएको छ ।
धान काट्न गएकाहरुले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल कसको र कति पुरानो हो भन्ने खुलेको छैन । घटनाको जानकारी पाउनसाथ अनुसन्धानका लागि डीएसपी जोशी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली पनि घटनास्थलतर्फ जाँदै छ । अहिले कोशी अस्पताल विराटनगरका फरेन्सिक विज्ञ डा. ज्वाला कँडेल र प्रहरीको टोली घटनास्थलमा छ । टोलीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
तत्काल नाम, थर, वतन तथा लिंग नछुट्टिएको कंकाल फेला परेको जोशीले बताए । उनका अनुसार जंगली जनावर र कुकुरले खाएजस्तो देखिने मान्छेको टाउको, हात र खुट्टासहितको कंकाल खुट्टामा निलो ‘हाफ पाइन्ट’ लगाएको अवस्था भेटिएको हो ।
डीएसपी जोशीले कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट कंकाललाई परीक्षणका लागि कोशी अस्पताल लगिने जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।


























