
विराटनगर । मोरङमा दुर्घटनामा परेर घाइते भएकी एक जना महिलाको आज (बिहीबार) बिहान मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका–४ किसान चोकमा प्रदेश १–०१–०१३ प ३३४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पम्फा श्रेष्ठ घाइते भएकी थिइन् । प्रहरीका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–६ घर भएकी श्रेष्ठलाई गत कात्तिक २७ गते मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । स्वास्थ्यमा सुधार नभएको भन्दै परिवारका सदस्यले अस्पतालबाट बुधबार राति निकालेका थिए ।
अवस्था थप जटिल बन्दै गएपछि पुनः उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगियो । उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको बिर्तामोड नगरपालिका–१ का २१ वर्षीय अनिषकुमार कट्टेल पनि सामान्य घाइते भएका थिए । उपचारपश्चात उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

























