
काठमाडौं । कास्की, रुपन्देही र काठमाडौंपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी ठगी प्रकरणमा चितवनमा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
चितवनको साहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन आरोपमा पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउको अनुमति दिएका हुन् ।
रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए ।
साहाराबाट गोर्खा मिडियासहित ५ वटा कम्पनीमा रकम पठाइएको पाइएपछि संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनका वरिष्ठ प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

























