
झापा । झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीस्थित एउटा मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ ।
आशिष वनको घरको सटर भाडामा लिएर झापाकै अर्जुनधारा नगरपालिका–११ का दीपक राजवंशीले सञ्चालन गर्दै आएको ग्यारेजमा आगलागी भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार दीपक मोटरसाइकल वर्कसपमा आइतबार साँझ ६ः३५ बजेतिर आगलागी भएको हो ।
विभिन्न ठाउँबाट पुगेका दमकल र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगोले वर्कसपसहित त्यहाँ मर्मत सम्भारका लागि राखेको एउटा स्कुटर, एउटा मोटरसाइकल, एउटा ‘एयर कम्प्रेसर’ र सवारीसाधन मर्मत गर्ने औजारहरु जलेको डीएसपी चन्दले बताए ।
आगलागीमा अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने चन्दले बताए । उनका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ ।

























