
विराटनगर । रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पस बाराका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याको मुख्य आरोपी भनिएका एक पुरुष पक्राउ परेका छन् ।
बाराको आदर्शकोतवाल गाउँपालिका– २ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहा पक्राउ परेका हुन् । उनलाई प्रहरीले विराटनगरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मुख्य आरोपी नेपाली सेनाका भगौडा हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाका अनुसार घटना पश्चात फरार रहेका सुरेन्द्रलाई विशेष टोलीले विराटनगरबाट पक्राउ गरेर बुधबार बारा लगेको थियो ।
क्याम्पस प्रमुख कुशवाहाको गत जेठ ३२ गते आदर्शकोतवाल गाउँपालिका – २ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा गोली प्रहार गरी हत्या भएको थियो ।
साे घटनामा संलग्न भएकाे आराेपमा चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अवधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी पक्राउ परेका थिए । तीमध्ये राधेश कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने अरु ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

























