विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनवटा घर भएको विवरणसहितको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
कार्कीले झापामा २ वटा र ललितपुरमा एउटा घर देखाएका छन् । झापाको दुईवटा घर दाजु दीपक कार्कीसँगको सम्युक्त भएको लेखिएको छ । ललितपुरमा भएको घर भने श्रीमतीको नाममा देखाएका छन् ।
मुख्यमन्त्री कार्की २०७७ सालमा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । मन्त्री हुँदा पनि उनले पेस गरेको विवरणमा ललितपुरको घर खरिद गर्दा बैंकबाट ९० लाख रुपैयाँ ऋण लिएको देखाएका छन् ।
शुक्रबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा पनि उनले एभरेष्ट बैंकको ९० लाख रुपैयाँ ऋण रहेको देखाएका छन् । पाँच वर्षको अन्तरमा ऋण थपघट भएको मुख्यमन्त्रीले सार्वजनिक गरेको विवरणमा देखिँदैन ।

























