
रामेछाप । रामेछापमा शुक्रबार फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ ।
रामेछाप प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहका अनुसार ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा रामेछापको गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहितको मृत्यु भएको हो । मृत्यु हुने अन्यमा गाडी चालक रामेछापकै मन्थली नगरपालिका–१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की, गोकुलगंगा–५ की ३० वर्षीया कविता कार्की खड्का र उनकै छोरी ७ वर्षीया स्वस्तिका खड्का रहेको उनले बताए ।
डीएसपी सिंहले मृत्यु हुनेमध्ये अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न बाँकी रहेको जनाए । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार मृतक सबैको शवलाई पोस्टमार्टमका लागि अस्पताल पुर्याइसकिएको छ ।
मृतकमध्ये बस्नेत २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी रामेछापकै गोकुलगंगा–६ सिमखोलामा दुर्घटना भएको प्रजिअ पौडेलले बताए ।
गाडीमा ८ जना सवार थिए । ५ जनाको मृत्यु भएको र ३ जना घाइते भएको जानकारी पौडेलले दिए । घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि पठाइएको उनले बताए ।

























