
विराटनगर । आइतबार हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिका प्रवेशमा रोक लगाइएको छ । स्थानीय प्रशासनले उपनिर्वाचन अवधिभर सवारीसाधन प्रवेशमा रोक लगाएको हो ।
जिल्ला सुरक्षा समितिले आज (मंसिर १५) राति १२ बजेदेखि भोलि (मंसिर १६ गते) मतदान नसकिएसम्मका लागि सवारीसाधानलाई पालिका प्रवेशमा रोक लगाएको हो । आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेललका अनुसार मंसिर १६ गतेको निर्वाचन सम्पन्न नभएसम्मका लागि ग्रामथान प्रवेश गर्ने बूढीगंगा गाउँपालिका– ७ डंग्राहा, विराटनगर महानगरपालिका– १९ को मिलन चोक, कटहरी गाउँपालिका– ७ को भौडाहा, सुन्दरहरैँचा नगरपालिका– १ को हरैँचाबाट अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाइएको हो । पालिका प्रवेशको ४ वटा नाकामा सुरक्षाकर्मी परिचालित भएका छन् । अनुमति लिएका र अत्यावश्यक सवारी भने सडकमा सञ्चालन हुन पाउने छन् ।
यात्रा गर्ने यात्रुले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने छ । ग्रामथान गाउँपालिका अध्यक्षका लागि भोलि उपनिर्वाचन हुँदैछ ।
अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र नमनारायण चौधरी स्वतन्त्र उम्मेदवार छन् ।
७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ ।

























