
काठमाडौं । स्थानीय तहको आइतबार हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३ बुँदे निर्देशन जारी गरेको छ । राजनीतिक दललाई लक्षित गरेर निर्देशन जारी गरिएको हो ।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिका लागि निर्देशन जारी गरिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १८ बमोजिम निर्देशन जारी गरेको हो ।
जसमा मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नहुने उल्लेख छ । त्यस्तै, मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको सांकेतिक पोसाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने, मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने आयोगको निर्देशनमा उल्लेख छ ।
निर्देशनविपरीत कार्य भएको र गरेको पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारबाही गर्न सक्ने आयोगले जनाएको छ । आयोगले मतदान केन्द्रको परिसरभित्र आचारसंहिता विपरीत कुनै कार्य वा अन्य अवाञ्छित गतिविधि हुन नदिन आह्वान गर्दै विज्ञप्ति जारी गरेको हो ।

























