
झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर नगरपालिका–११ तेलीबारीमा यात्रुवाहक बसमा मोटरसाइकल ठोक्किएर मंगलबार दिउँसो एक जनाको मृत्यु भएको छ ।
धुलाबारीबाट चारआलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४९०९ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको मे १० प ३५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दिउँसो १२ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक चन्द्रगढी नगरपालिका–६ का अन्दाजी ४० वर्षीय किसन न्यौपानेको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि बी एन्ड सी अस्पताल पुर्याउनसाथ दिउँसो १२ः५५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनालगत्तै बस र चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का विजयकुमार यादवलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार दुर्घटनास्थल ट्राफिक प्रहरी पोस्ट चारआलीबाट करिब १ किलोमिटर पूर्वमा पर्छ । सडकको घुम्ती मोडका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























