
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल भारत भ्रमणमा जाने भएका छन् । मंसिर २६ देखि २९ गतेसम्म उनी भारत भ्रमणमा रहने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अहिले चीन भ्रमणमा छन् । उनी भ्रमण सकेर भोलि नेपाल फर्किदै छन् । प्रधानसेनापति सिग्देल भने भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न भारत जान लागेका हुन् ।
प्रधानसेनापतिमा नियुक्त भएपछि नेपाल र भारतबीच एकअर्काको देशमा गएर मानार्थ महारथीको दर्ज्यानी चिन्ह लिने प्रचलन छ । यसअघि भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी ५ दिने नेपाल भ्रमणमा आएर महारथीको दर्ज्यानी चिन्ह लिएर फर्किसकेका छन् ।
मंसिर ५ गते नेपाल आएका उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेका हुन् । उनी मंसिर ९ गतेसम्म नेपाल भ्रमणमा रहेका थिए ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतका नेतासँग भेटघाट गर्ने कार्यक्रम छ ।

























