
सुनसरी । अराजक र उदण्ड व्यवहार प्रदर्शन गरिरहेका सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)लाई कारबाहीको माग गर्दै पत्रकारहरुले शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
साम्पाङमाथि कारबाही हुनुपर्ने माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाइएको हो । गृहमन्त्री लेखक शुक्रबार सुनसरीको धरान पुगेका थिए । सुनसरीका पत्रकारहरूले ज्ञापनपत्र बुझाउँदै साम्पाङलाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका हुन् ।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत तथानाम गालीगलौज गर्दै अपशब्द प्रयोग गरेर सृङ्खलाबद्ध रूपमा धम्की दिन थालेपछि सुनसरीका पत्रकारहरुले असुरक्षित महसुस गरिरहेका छन् । धम्की दिने क्रम नरोकिएसँगै पत्रकारहरुले नेपाल सरकारका गृहमन्त्रीलाई गुहारेका हुन् ।
उनीहरुले साम्पाङका अराजक एवं आपराधिक गतिविधि नियन्त्रण गर्न तथा उनलाई कारबाहीको दायरामा ल्याउन र पत्रकारलाई स्वतन्त्र पूर्वक काम गर्ने वातावरण बनाउन माग गरेका छन्। पछिल्लो समय खोज पत्रकारिता केन्द्र (खोपके)का लागि पत्रकार गोपाल दाहालले ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ भन्ने शीर्षकमा समाचार लेख्दै उनको भण्डारफोर गरेका थिए ।
समाचारमार्फत साम्पाङको गलत कार्यशैली र विवादित विगत सार्वजनिक भएको छ । आफ्नो गलत रवैया उदांगो भएसँगै उनी पत्रकारप्रति निक्कै आक्रामक बनेका छन् । पत्रकारिता सिध्याइदिनेसम्मको धम्की दिन्छन् । उनले पत्रकार दाहालसहित उक्त समाचार फेसबुकमा सेयर गर्ने नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष जनकऋषि राईलाई धम्की दिएका हुन् ।
समाचार लेखेकै कारण स्थानीय सरकारको प्रमुखबाट पटकपटक सृङ्खलाबद्ध धम्की आउँदा पनि सरकार सुरक्षामा गम्भीर हुन नसकेको गुनासो पत्रकारहरुले गरेका छन् । नेपाल पत्रकार महासंघ सुनसरीले समेत सुरक्षाको माग गर्दै गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको छ।
गृहमन्त्री लेखकले भने अराजक गतिविधि गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने र पत्रकारलाई स्वतन्त्र पूर्वक काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाका छन् । त्यस्तै, साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा समेत उजुरी परेको छ ।
पत्रकार महासंघ सुनसरीको भेलापछि महासंघका जिल्ला अध्यक्ष जनकऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् । उजुरीमा सामाजिक सञ्जालमा धम्कीपूर्ण ‘कमेन्ट’ गर्ने लेखक राईसहितका व्यक्तिलाई तत्काल कारबाही गर्नुपर्ने माग पनि गरिएको छ ।
साम्पाङले नेपालको प्रचलित कानुन र अदालतलाई समेत चुनौती दिइरहेका छन् । आफूले राम्रो काम गर्न खोज्दा अदालत र प्रहरीले भाँजो हालेको भन्दै उनी आक्रोसित छन् । साम्पाङले पत्रकारलाई तथानाम गाली गरेको र अदालतलाई चुनौती दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
धरानमा हर्क साम्पाङको हर्कत : चल्नसक्छ ‘साइबर क्राइम’मा मुद्दा

























