
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाएको छ । सोमबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।
अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा चलाउन राय दिएको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गर्नेछ ।
कास्कीको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमिततामा लामिछाने जोडिएको अनुसन्धान प्रतिवेदनमा छ ।
पोखराको सूर्यदर्शन सहकारीसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेको बयान लिएको छ । लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए ।

























