किन हटेन युरोपेली आकाशमा नेपाली वायुसेवा कम्पनीमाथिकाे प्रतिबन्ध ?

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २, मंगलबार १२:०८

काठमाडौं । युरोपेली सङ्घ (ईयू) क्षेत्रमा नेपाली वायुसेवा कम्पनीका विमानमाथिको प्रतिबन्ध थप एक वर्ष थपिएको छ । युरोपेली क्षेत्रको आकाशमा उड्न नपाउने गरी ११ वर्षअघि प्रतिबन्ध लागेको थियो । यो प्रतिबन्ध थप एक वर्ष बढेको हो ।

अझै थप एक वर्ष प्रतिबन्ध जारी राख्ने यूनियनको निर्णयलाई नेपाली अधिकारीहरूले अपेक्षित भएको बताएका छन्।

बर्सेनि अद्यावधिक हुँदै सार्वजनिक हुने यस्तो प्रतिबन्धको निर्णयका कारण नेपालका सम्पूर्ण विमान कम्पनीहरू युरोपेली आकासमा एक दशकभन्दा बढी समयदेखि प्रतिबन्धित छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले युरोपेली नियामक अधिकारीहरू सन् २०२३ को सेप्टेम्बरमा नै नेपाल आएर निरीक्षण गरेपछि पनि त्यस वर्षको अन्त्यमा प्रतिबन्धसूचीबाट नहटाएको पृष्ठभूमिमा यस वर्ष हट्ला भने आफूहरूले आशा नगरेको बताए । ‘त्यसबेला उहाँहरूले दिएका सुझावका आधारमा हामीले सुधारात्मक कार्ययोजना बनाउँदै त्यसलाई स्वीकृत गराएर त्यसमा काम गरिरहेका छौँ ।’ उनले भने ।

ईयूका २८ सदस्य देशहरूको साझा उड्डयन सुरक्षा निकाय ‘ईएएसए’ले मङ्सिर अन्तिम साता आफ्नो ‘एअर सेफ्टी लिस्ट’ अद्यावधिक गर्ने क्रममा एअर तान्जनीयालाई थप गरेको छ भने पाकिस्तान इन्टर्न्याश्नल एअरलाइन्स (पीआईए) माथिको प्रतिबन्ध भने करिब चार वर्षपछि हटाइएको छ।

अद्यावधिक सूचनाअनुसार नेपाली विमान कम्पनीहरूसहित संसारभरका १२९ विमान सेवाहरू युरोपेली आकासमा उड्न पाउँदैनन् ।

‘अहिले नियामकका रूपमा क्यान र विमान कम्पनीहरू दुवैले आआफ्नै तवरले सुधार गर्ने गरी काम गरिरहेका छौँ। त्यो महसुस हुने एउटा तहमा पुगेपछि फेरि हामीले स्थलगत मूल्याङ्कनमा बोलाएपछि अवस्था फेरिन सक्ने सम्भावना रहन्छ ।’ क्यान सहप्रवक्ता भुल भन्छन् ।

असर के हुन्छ ?

प्रतिबन्धित कम्पनीका विमान सेवाहरूलाई ईयूका सदस्य देशका लागि, ती देशबाट र ती देशमाथिको आकाशमा उडान गर्न रोक लगाइएको छ।

त्यसैले नेपालबाट धेरै गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने दुई वायुसेवा कम्पनीहरूको युरोपमा व्यवसाय विस्तार गर्ने योजना देखिँदैन ।

नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सले आफ्नो योजनामा तत्काल युरोप उडान सुरु गर्ने सोच नरहेको बताउँदै आएका छन् भने बुद्ध एअर र श्री एअरलायन्सले छिमेकी देशहरूमा मात्र केही नियमित र चार्टर्ड उडानको अनुमति लिएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री यसको सबैभन्दा ठूलो मार युरोपेली बजारमा बनिरहेको नेपालको नराम्रो छविमा पर्ने बताउँछन्।

‘अन्यथा हामीलाई प्रत्यक्ष त्यसको अरू असर परिसकेको छैन,’ पूर्वमहानिर्देशक क्षेत्री भन्छन्,‘ त्यसो भनेर यो बेवास्ता गर्ने विषय पनि होइन । प्रतिबन्धबाट हट्नु महत्त्वपूर्ण पक्षकै रूपमा छ।’ नजानिँदो ढङ्गबाट त्यसको केही प्रभाव प्रत्यक्ष रूपमा समेत परेको हुन सक्ने पूर्वमहानिर्देशक क्षेत्री बताउँछन् ।

‘विगतमा नेपाल सहभागी हुने राष्ट्रसङ्घीय मिशनमा समेत यहाँका हेलिकप्टर तथा विमान प्रयोग गरिन्थे । नेपाली सेनाले आफ्ना विमान अफ्रिकासम्म लगेको पाइन्छ । युरोपेली प्रभाव त्यहाँ उच्च रहने हुँदा हामी प्रतिबन्धित कुरा प्रयोग नगरौँ भन्ने परिस्थिति बनेको हुन सक्छ,’ उनी भन्छन् ।

प्रतिबन्धका कारण कोभिड महामारीको अवस्था गम्भीर भएका बेला युरोपेली र उत्तर अमेरिकी देशका नागरिकहरूलाई लैजाने उद्धार उडानका लागि नेपाल वायुसेवालाई अनुमति दिइएको थिएन ।

दुर्घटनाले रोकियो

नेपालमा चालु दशकको सुरुतिर भएका तीन मुख्य ‘मल्टिइन्जिन’ हवाई दुर्घटना भएको पृष्ठभूमिमा ईयूले आफ्नो प्रतिबन्ध जारी राखेको छ।

‘हामीले उड्डयन सुरक्षामा एउटा तहमा पुग्यौँ भन्ने महसुस भइरहँदा त्यही बेला सतहमा देखा पर्ने दुर्घटनाले हाम्रो आत्मविश्वास कमजोर पार्ने र स्वयंलाई प्रश्न गर्नुपर्ने अवस्था बनिरहेको हुन्छ ।’ क्यान सहप्रवक्ता भुल भन्छन् ।

सन् २०२४, २०२३ र सन् २०२२ तीनवटै वर्ष तीनवटा यात्रुवाहक ‘मल्टिइन्जिन’ विमान दुर्घटना भए ।

यस वर्षको सौर्य विमान दुर्घटनामा पाइलट मात्र बच्न सफल भए तापनि त्यसअघिका यति एअरलाइन्स र तारा एअरलाइन्स दुर्घटनामा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको थियो । केही घातक हेलिकप्टर दुर्घटनाका घटना समेत यसबीचमा देखिए ।

‘सरकार र नियामकबाहेक वास्तविक धरातलमा विमान कम्पनी, विमानस्थल, सम्बन्धित अख्तियारप्राप्त निकायबाट ससाना चुक भएर दुर्घटना हुने अवस्था आउँदासम्म दस्ताबेजमा जेजस्तै सुधार भए पनि सुरक्षा प्रणालीले काम गरेको झल्को देखिँदैन,’ उनी भन्छन्,‘दुर्घटना न्यूनीकरण हुँदा धेरै कुरा सुधार गर्न सहज माहोल बन्छ ।’

सन् २०१० मा नेपालमा एकै वर्ष तीनवटा विमान दुर्घटना भएका थिए भने सन् २०११ मा एउटा र सन् २०१२ मा दुईवटा विमान दुर्घटना भएको पृष्ठभूमिमा त्यस्तो प्रतिबन्ध लागेको थियो ।

ईयूले त्यस्तो प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को प्रतिवेदनलाई आधार मानेको थियो । आइकाओले सुरक्षासम्बन्धी निर्धारण गरेको अन्तर्राष्ट्रिय ‌औसत मापदण्ड ६० प्रतिशत तोकेको छ ।

गम्भीर सुरक्षा चासोको सूचीबाट हटाउने क्रममा सन् २०१७ मा नेपाली वायुसेवा सुरक्षा परीक्षण गर्दा त्यो ६६ प्रतिशत पुगेको बताइएको थियो ।

सन् २०२२ मा त्यो ७० प्रतिशत नाघेको जनाइएको थियो, जुन विश्वव्यापी औसत करिब ६७ प्रतिशत भन्दा बढ्ता भए तापनि ईयूको प्रतिबन्धबाट हट्नका लागि सहयोगी बनेको छैन । बीबीसीबाट

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.