
विराटनगर । पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम बदली हुँदा बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ। सोमबार चिसो झन् बढ्नेछ । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौँसम्म आइपुग्नेछ ।
हाल पश्चिमी वायुको आंशिक प्रभाव छ । कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ।

























