
विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ को बाँस झ्याङमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनामाथि म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
जहदा गाउँपालिका– ३ की २२ वर्षीया विवाहित महिला कटहरी – २ को कदमगाछीमा रहेको बाँस झयाङ नजिकै अचेत अवस्थामा भेटिइकी थिइन् ।
उनलाई सामुहिक बलत्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार मोरङ कटहरी गाउँपालिका – २ का २० वर्षीय महमद रमजान, सोही स्थानका १९ वर्षीय सुनिलकुमार साह र भारतको अररिया जिल्ला कुसकिट्टा ग्राम पंचायत– ९ घर भइ कटहरी गाउँपालिका– २ मा बस्दै आएका १८ वर्षीय महमद गुल्जरलाई अपहरण, शरिर बन्धक,ज्यान मार्ने उद्योग र जवरजस्ती करणी मुद्दामा म्याद थप गरेको हो ।
तीन जनाको समूहले बलात्कारपछि मुख कपडा कोचेर हातखुट्टा बाँधेर छाडेको थियो । पराल लिन गएकी महिलाले अचेत अवस्थामा भेटेपछि प्रहरीलाई खबर पुगेको थियो । स्थानीयको सहयोगमा प्रहरीले उद्दार गरी अस्पताल भर्ना गरेको थियोे । ति महिलाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
गत पुस ९ पुसमा बिहान करिब साढे ४ बजे ति महिला जहदा गाउँपालिका– ३ स्थित घर पछाडी रहेको जुडी खोलामा शौच गर्न गएकी थिइन् । शौच गर्न गएका बेला तीन जनाको समूहले उनलाई सिटी सफारीमा हालेर करिब ३ किलोमिटर उत्तर पूर्व बाँसघारीमा लगेर जवरजस्ती करणी गरेका थिए ।

























