
बझाङ । बझाङका अलगअलग स्थानमा बिहीबार राति दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
तलकोट गाउँपालिका–२ सुकगाड र कोटदेवलमा दुर्घटना भएको हो । सुकगाडमा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित ४ र कोटदेवलमा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९८ नम्बर जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुकगाडको दुर्घटनामा जिप चालक केदारस्यूँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बमबहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बमबहादुर धामीकी छोरी ५ वर्षीया आकृतीको मृत्यु भएको हो । तलकोट गाउँपालिकाबाट चैनपुरतिर आइरहेको उक्त जिप सडकबाट राति ८ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, कोटदेवलको दुर्घटनामा जिप चालक ४२ वर्षीय धर्म थापाको मृत्यु भएको छ । मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

























