
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारी र सार्वजनिक निकायबाट जनताले प्रभावकारी, सहज एवं सरल हिसाबले सेवा पाउन नसकिरहेको निष्कर्षमा पुगेको छ ।
यातायात, मालपोत, नापी, राहदानी, वैदेशिक रोजगार, अध्यागमनलगायतका संघीय कार्यालयहरुको सेवा प्रवाह अपेक्षाअनुरुप प्रभावकारी हुन नसकेको ठहर अख्तियारको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने कार्यालयले पनि त्यसका लागि तत्परता नदेखाएको अख्तियारले जनाएको छ ।
विभिन्न कार्यालयमा घुसको लेनदेनसमेत हुने गरेको छ । कर्मचारीहरु भ्रष्टाचारमा मुछिएका छन् । राज्यका निकाय अनियमिततामा चुर्लुम्म डुबेकै कारण जनताले सहज सेवा पाउन नसकिरहेको बुझ्न कठिन छैन ।
सूचना प्रविधिको उपयोगको विस्तार गरी सार्वजनिक सेवा प्रवाहलाई अनुमानयोग्य, सरल, सुलभ र व्यवस्थित बनाउने नेपाल सरकारको प्रयास प्रभावकारी नभएको ठहर पनि अख्तियारको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्बन गर्न आवश्यक रहेको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राईले सरकारी र सार्वजनिक निकायको सेवा प्रवाहमा प्रश्न उठाएका हुन् । सेवा प्रवाहलाई अपेक्षाअनुरुप प्रभावकारी बनाउन सबै पक्ष लाग्नुपर्नेमा उनको जोड छ ।
राईले प्रदेश सरकार र स्थानीय सरकारबाट प्रदान गर्ने सेवा झन जटिल र खर्चिलो हुन गइ जनताले सहज एवं सरल सेवा प्राप्त गर्न नसकिरहेको उल्लेख गरे । ‘प्रदेश सरकार र स्थानीय सरकारबाट प्रदान गर्ने सेवा झन जटिल एवं खर्चिलो हुन गइ जनताले सहज र सरल सेवा प्राप्त गर्न नसकिरहेको अवस्था छ,’ अख्तियार प्रमुख राई भन्छन्,, ‘अतः नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्बन गर्न आवश्यक छ ।’
राष्ट्रपति रामचन्द्र पौडेलले समेत भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अख्तियारको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पुर्याउनुपर्ने बताए ।
ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति उनले चिन्ता व्यक्त गरेका छन् । भ्रष्टाचार मुक्त समाज निर्माणले मात्रै मुलुकको विकास सम्भव हुने राष्ट्रपति पौडेलको धारणा छ ।
कार्यक्रममा राष्ट्रपति पौडेलले उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा उपसचिव विष्णुराज बेल्बासे र प्रहरी नायब उपरीक्षक कमलकुमार खड्कालाई सम्मानित गरेका थिए । नापी अधिकृत रुविना शाही उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट पुरस्कृत भएकी छन् । राष्ट्रपति पौडेलले विभिन्न पत्रकार एवं लेखकहरुलाई पनि कदरपत्रसहित सम्मान गरेका छन् ।

























