भद्रपुर झापा गोल्डकपः पाहुना टोलीलाई हराउँदै आयोजक सेमिफाइनलमा

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ९, शुक्रबार १८:४५

झापा । झापाको भद्रपुरमा जारी ‘भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल’को सेमिफाइनलमा आयोजकको टोली भद्रपुर ब्लेजर्स पुगेको छ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार (आज) भएको खेलमा भद्रपुर ब्लेजर्सले पाहुना टोली नेपाल पुलिस क्लबलाई २–१ गोल फरकमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । दुवै टोली पहिलो हाफमा गोलरहित बराबरीको स्थितिमा थिए ।

खेलको ७२ औं मिनेटमा भद्रपुर ब्लेजर्सका मिलन राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे ।

७४ औं मिनेटमा भद्रपुरले पाएको पेनाल्टीमा गोल थप्दै गोल संख्या दोब्बर पारे । भद्रपुरका आशिष चापागाईंलाई पुलिसका मानबहादुर परियारले पेनाल्टी एरियामा फाउल गरेपछि मिलन राईले गोल गरे ।

दोस्रो हाफको अतिरिक्त समयमा पुलिसले १ गोल फर्कायो । भद्रपुरका गोलकिपर जियारत शेख चुकेपछि प्रशान्त कुँवरले गोल गरे । खेलको प्लेयर अफ द म्याच मिलन राईले २१ हजार र ट्रफी प्राप्त गरे ।

पोस्ट म्याच कन्फ्रेन्समा भद्रपुरका सहायक प्रशिक्षक अर्जुन राईले पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो हाफमा रणनीति बनाएर पुलिसमाथि जित दर्ता गरेको बताए । घरेलु टिम र दर्शकका साथका कारण खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो ।

पुलिसका प्रशिक्षक सुमन सुवेदीले खेलाडीहरूले राम्रो प्रदर्शन गरे पनि डिफेन्समा चुक्दा हार बेहोर्नु परेको बताए । जित्ने योजनाका साथ मैदानमा उत्रिए पनि सानो गल्तीले चुकेको उनको भनाइ थियो ।

शनिबारको दोस्रो क्वाटरफाइनल खेल झापा ११ एफसी र चर्च ब्वाईज युनाइटेडबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.