
विराटनगर । विद्यार्थीहरूको क्षमता विकास गराउने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि महानगरस्तरीय अन्तर सामुदायिक आधारभूत विद्यालय हाजिरीजबाफ प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले पाठ्यपुस्तकको अध्ययनसँगै विद्यार्थीले बाहिरी ज्ञान पनि हासिल गर्नु जरुरी रहेको औंल्याए ।
उनले हरेक शुक्रबार महानगर क्षेत्रका विद्यालयलाई ‘बुक फ्रि डे’ का रुपमा अघि सारिएको जानकारी दिए ।
शुक्रबार पाठ्यपुस्तकको अध्ययनभन्दा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय बनाउने नीति अघि सारिएको उनको भनाइ थियो । ‘रुचिअनुसार शुक्रबार विद्यार्थीले आफूलाई प्रस्तुत गर्छन् ।
खेलकुदमा रुचि भएकाले खेलकुदमा भाग लिन्छन् । साहित्यमा रुचि भएकाले साहित्य सिर्जना वाचन गर्छन् । गीतसंगीतमा रुचि भएकाले गीत गाउँछन्,’ मेयर कोइरालाले भने, ‘यसले आफ्नो रुचिअनुसार विद्यार्थीले आफूलाई निखार्छन् ।’
अध्ययनसँगै अन्य क्षेत्रमा लागेर अगाडि बढ्न सकिन्छ भन्ने कुरा विद्यार्थी र अभिभावले बुझ्नु जरुरी रहेको उनले बताए । मेयर कोइरालाले प्रविधिमैत्री शिक्षालाई महानगरले जोड दिइरहेको उल्लेख गरे ।
वडा नम्बर १ का अध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन निरौला, प्रअ नेत्रप्रसाद पराजुली, जिल्ला शिक्षा शिक्षा समन्वय इकाई मोरङका निमित्त प्रमुख जीवन गड्तौला, शिक्षक ऋषि खतिवडालगायतले शुभकामना व्यक्त गरे ।
३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरका ५४ वटा विद्यालयका विद्यार्थी सहभागी छन् ।
प्रतियोगितामा प्रथम हुनेले २१, द्वितीय हुनेले १५ र तृतीय हुने विद्यालयले १२ हजार र सान्त्वनाले ६ हजार नगद राशीसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए ।
प्रतियोगिता विगत ७ वर्षदेखि जारी रहे पनि यस पटकदेखि भने रनिङ शिल्डका रुपमा सुरु भएको हो । अब प्रथम हुनेले १६ तोलाको चाँदीको जलप र महानगरको लोगो कुँदिएको शिल्ड प्राप्त गर्नेछ ।
लगातार ३ पटक प्रथम हुने विद्यालयले सो शिल्ड सधैँका लागि प्राप्त गर्ने प्रतियोगिताको संयोजन गरेको विराटनगर–७ स्थित बाल मन्दिरका प्रधानाध्यापक नेत्रप्रसाद पराजुलीले जानकारी दिए ।



















