
काठमाडौं । नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।
आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत ७ देखि ९ गतेसम्म काठमाडौंमा हुने धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
कूल ५२ लाख ६० हजार पुरस्कार राशि रहेको प्रथम पीएल सिंह मेन्स स्पोर्ट्स फिजिक्स १७० सेमी ओभर / अण्डर, प्रथम वोमेन्स बडी बिल्डिङ ओपन र ५० वर्षमाथिका मास्टर खुला राष्ट्र व्यापी शारीरिक सुगठन प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा विभिन्न ६ तौल समूह विभाजन गरिएको छ । प्रतियोगितामा ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्रामभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा करिब ६ सय खेलाडीहरूको सहभागिता रहने आयोजकले बताएको छ । जसमध्ये प्रत्येक तौल समूहबाट अन्तिम चरणका लागि ६ जना खेलाडी छनौट हुनेछन् ।
प्रत्येक तौल समूहको विजेताबीच ओभरअलमा मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा गराइने छ ।
जसका विजेताले ११ किलो वजन रहेको ट्रफीसहित नगद १२ लाख प्राप्त गर्ने छन् । दोस्रो हुनेले ६ लाख, तेस्रो हुनेले ३ लाख, चौथो हुनेले २ लाख, पाँचौँ हुनेले १ लाख ८० हजार र छैठौं हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यसैगरी, तौल समूहमा दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार प्राप्त गर्ने नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए ।
त्यस्तै, मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वोमेन्स बडी बिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख नगद पाउने छन् । तेस्रोले ७० हजार चौथोले ५० हजार, पाँचौले ४० हजार तथा छैटौंले ३० हजार प्राप्त गर्नेछन् ।
५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउने छन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार र छैटौंले १० हजार हात पार्ने छन् ।
यस पटक सबै विधाको शीर्ष ६ सम्म बन्ने खेलाडीलाई नगद पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यसपटक मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्व. पीएल सिंहको नाममा पीएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको हो । चैत ७ गते वेइङ, चैत ८ गते प्रि–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने अध्यक्ष प्रधानले बताए ।
नेपालको शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवनको आहुती दिने अमर सहिद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ सालदेखि यो प्रतियोगिता आयोजना हुँदै अध्यक्ष प्रधानले बताए । १६औं संस्करणमा उमेश राईले धर्मश्री उपाधि जितेका थिए ।



















