
विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक पनि छन् ।
प्रहरीले मोरङ, सुनसरी र उदयपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । ३ जना भारतीय र ३ जना नेपाली नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले मोरङको विराटनगर महानगरपालिका–१३ बाट २ जनालाई पक्राउ गरेको छ । धनुकटाको सहिदभूमि गाउँपालिका–७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उपमहानगरपालिका–१० का ३२ वर्षीय मनोज गुरुङलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार चेकजाँचका क्रममा लागुऔषध गाँजा फेला परेपछि दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट ६ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
सुनसरीको देवानगन्ज गाउँपालिका–२ बाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतीय नम्बरको प्लेटको मोटरसाइकलमा सवार रहेका अररिया पत्राहा–१५ का २६ वर्षीय मोहमद जाबेद, ३० वर्षीय मोहमद जमशेर र २५ वर्षीय मोहमद अलबिनलाई पक्राउ गरिएको एसएसपी दाहालले बताए ।
दाहालका अनुसार उनीहरु बीआर ३८ एडी ४१३३ नम्बरको मोटरसाइकलमा सवार थिए । हरिनगराबाट देवानगन्जतर्फ आउँदै गर्दा पक्राउ परेका उनीहरुको साथबाट आधा किलो गाँजा प्रहरीले बरामद गरेको छ ।
त्यस्तै, उदयपुरको बेलका नगरपालिका–९ का २४ वर्षीय जनम गहतराज पक्राउ परेका छन् । उनको साथबाट २ सय मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसएसपी दाहालले बताए ।

























