
हेटौँडा । मकवानपुरको रातेमाटेबाट ४ लाख रुपैयाँभन्दा बढीको लागुऔषध ‘ट्रामाडोल’ सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट ५ हजार ७५० थान लागुऔषध उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
आज (बिहीबार) प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको लागुऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७ बेनौली बस्ने २५ वर्षीय तीर्थलाल पासवान र सह–चालक सोही स्थानका २३ वर्षीय को सुनिल पटेल छन् ।
बाराको सिम्ररौनगढबाट हेटौंडातर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई हेटौँडा–१५ रातोमाटे चेक प्वाइन्टस्थित पूर्वपश्चिम लोकमार्ग सडक खण्डमा जाँच गर्ने क्रममा सो परिमाणको ट्रामाडोल बरामद भएको प्रहरी उपरीक्षक खड्काले बताए ।
पक्राउ परेका पासवान र पटेललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

























