धरानमा स्कोरपिओ गाडीमा भेटियो ३ क्वीन्टल गाँजा

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १३, शनिबार ११:४८

विराटनगर । धरानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । स्कोरपिओ गाडीबाट ३ क्वीन्टल (३ सय किलो) गाँजा बरामद भएको हो ।

गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१३ जिरोपोइन्टबाट स्कोरपिओलाई शुक्रबार राति ९ बजेतिर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर चेकजाँच गर्दा गाडीभित्र गाँजा फेला परेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।

उनका अनुसार चिण्डेडाँडा हुँदै कृषि बजारतर्फ गइरहेको को १ च ७३३५ नम्बरको स्कोरपिओ गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिँदा गाडी बेवारिसे अवस्थामा थियो ।

चेकजाँचका क्रममा प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा १० पोका गाँजा गाडीको पछाडिको सिटमा भेटिएको तिम्सिना बताउँछन् । उनका अनुसार तौल लिँदा ३ सय किलोग्राम भयो ।

नियन्त्रणमा लिएको गाडी र बरामद गरिएको गाँजालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । गाडी चालक फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.