
खाँदबारी । संखुवासभाको खाँदबारीमा अपरिचित व्यक्तिको समूहले १ जना वृद्धको हत्या गरेको छ ।
खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको हत्या भएको संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर रामकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार अपरिचित २ जना व्यक्तिले कुमालको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आफ्नै घरको बरन्डाको कोठामा सुतिरहेका वृद्धको शनिबार राति १२ बजेतिर हत्या भएको प्रहरीको भनाइ छ । अज्ञात व्यक्तिहरुले घाँटी थिचेर गम्भीर घाइते बनाएका उनलाई उपचारका लागि मनकामना सामुदायिक अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
बरन्डामा सुतिरहेका कुमालमाथि आक्रमण भएपछि उनी चिच्याएका थिए । थाहा पाएर घरभित्र सुतिरहेकी पत्नी सुनमाया कुमाल बाहिर निस्किन् । २ जना व्यक्तिहरुले पतिमाथि आक्रमण गरिरहेको देखेपछि उनले होहल्ला गरेर छिमेकीलाई बोलाएकी थिइन् ।
छिमेकी घटनास्थलमा पुग्नुअघि नै आक्रमणमा संलग्नहरु फरार भएको इन्स्पेक्टर लामिछानेले बताए । गम्भीर घाइते अवस्थाका वृद्धलाई स्थानीयले नै उद्धार गरेर अस्पताल पुर्याएका थिए ।
घटनालगत्तै फरार भएका व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । वृद्धको हत्याको कारण खुल्न सकेको छैन । प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान अघि बढाएको छ ।
घटनाको अनुसन्धानका लागि संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेत नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको छ । घरमा मृतक कुमाल र उनकी पत्नी मात्रै बस्थे । २ जना छोरा विदेशमा रहेको प्रहरीले जनाएको छ ।

























