
विराटनगर । लागुऔषध गाँजा तस्करी गर्दै गरेको भारतीय नम्बरको एम्बुलेन्ससहित १ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका –४ का २५ वर्षीय श्रीराजकुमार साहलाई भारतीय नम्बरको एम्बुलेन्समा गाँजा लिएर जाँदै गर्दा पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
एम्बुलेन्समा राखेर गाँजा तस्करी भइरहेको छ भन्ने सूचनाका आधारमा शनिबार राति १० बजेतिर इलाका प्रहरी कार्यालय इटहरी, पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीको संयुक्त प्रहरी टोलीले मुख्य राजमार्ग निस्कने सबै बाटो ‘ब्लक’ गरेको थियो । रामधुनी नगरपालिका–६ पिडारीमा बीआर ३८ पी ५४१४ नम्बरको भारतीय एम्बुलेन्सलाई चेक गर्दा ६ वटा कालो बोरामा लुकाइ ल्याउँदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद गरिएको एसपी तिम्सिनाले बताए ।
एम्बुलेन्सभित्र कालो प्लास्टिकभित्र सेतो बोरामा प्याक गरेको अवस्थामा ३० केजी दरका ६ बोरामा १ सय ८० केजी गाँजा बरामद भएको हो । एम्बुलेन्स र चालक साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
धनकुटामा गरिएको व्यावसायिक खेतीबाट उत्पादित गाँजा पछिल्लो समय सुनसरी र मोरङको प्रहरी टोलीले बरामद गरिरहेको छ । निजी नम्बरका गाडी, मोटरसाइकल, सार्वजनिक यातायातका साथै भारतीय नम्बरका गाडीको प्रयोग गरेर गाँजा भारत लैजाने गरिको छ ।

























