
विराटनगर । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले आज (सोमबार) बिहान हवाई फायर गरेको छ ।
कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीस्थित सुरुंगा–झापा सडक खण्डमा प्रहरीले गोली चलाएको हो । प्रहरीलाई देख्नसाथ शरणामतीबाट सुरुंगातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर चालक भाग्न खोजेका थिए ।
उक्त मोटरसाइकल नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहान ८ः४० बजेतिर राइफलबाट २ राउण्ड हवाई फायर गरेको हो । तर, हवाई फायर गरे पनि प्रहरीले मोटरसाइकल चालकलाई भने पक्राउ गर्न सकेन ।
बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकल र झोला घटनास्थलमै छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झोला खानतलासी गर्दा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)जस्तो देखिने वस्तु करिब २ सय ग्राम बरामद भएको छ ।
मोटरसाइकल र ब्राउन सुगर प्रहरीले नियन्त्रणमा लिएको छ । फरार भएका चालकको खोजी तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ ।

























