उपभोक्ता ठग्ने व्यवसायीलाई अदालतले तिरायो जरिबाना

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २६, शुक्रबार ११:२१

काठमाडौं । तोकिएको भन्दा बढी मूल्यमा चाँदी बिक्री गर्नेलाई उपभोक्ता अदालतले जरिबाना तिराएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–१३ बस्ने सावित्री खत्री थापाले २०८१ फागुन २५ मा काठमाडौं विशालबजारको स्वस्तिक सिल्भर प्यालेसबाट चाँदीको मूर्ति किनेकी थिइन् । १.१४ तोलाको चाँदीको मूर्तिको मूल्य उनले ४ हजार ६ सय रुपैयाँ तिरेकी थिइन् ।

सुनचाँदी व्यवसायी महासंघले तोकेको रेटअनुसार २ हजार २ सय ६३ रुपैयाँ मात्रै हुनुपर्नेमा स्वस्तिक प्यालेसले बढी पैसा लिएको उनले थाहा पाइन् ।

चाँदीको तौल र रकममा ठगिएको महसुस गर्दै थापा २०८१ चैत १ मा सामान फिर्ता गर्न प्यालेस पुगिन् । तर स्वस्तिक सिल्भर प्यालेसले कायम भएको मूल्यभन्दा कमको भर्पाई र तमसुक बनाएर २ हजार २ सय २५ मात्रै फिर्ता गरेको थियो।

त्यसपछि थापा उपभोक्ता अदालत पुगिन् । ऐनको दफा ५०, ५१ र ५२ बमोजिम विपक्षी स्वस्तिक सिल्भर प्यालेस प्रालिबाट आर्थिक क्षति, सोरुम जाँदा–आउँदाको खर्च, मानसिक क्षति, शारीरिक क्षतिसहित ३५ हजार ७ सय रुपैयाँ दिलाई भराई चलन चलाई पाऊँ भन्दै उनले मुद्दा दायर गरेकी थिइन् ।

२०८१ चैत ३ मा उपभोक्ता अदालतमा दायर मुद्दाको बिहीबार पहिलो पटक बहस भएको हो । चाँदीको मूर्ति खरिदसम्बन्धी मुद्दामा फैसला भएको उपभोक्ता अदालतका स्रेस्तेदार शोभाकर खरेलले जनाए ।

‘ललितपुरको गोदावरी नगरपालिका–१३ बस्ने सावित्री खत्री थापाले दायर गरेको मुद्दाको बहस सकिएर विपक्षी स्वस्तिक सिल्भरबाट २० हजार क्षतिपूर्ति दिलाउने फैसला भएको छ,’ स्रेस्तेदार खरेलले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.