
काठमाडौं । दुर्गा प्रसाईं विरूद्धको बैंकिङ कसुर मुद्दामा तीन दिनसम्म बयान भएको छ । विशेष सरकारी वकिलको कार्यालय काठमाडौंमा गएको साता प्रसाईंसँग तीन दिनसम्म बयान लिइएको हो ।
एउटा कामको लागि बैंकबाट ऋण लिएर अर्कै ठाउँमा खर्च गरेपछि प्रसाईंविरूद्ध नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई गत माघ २३ गते पत्राचार गरेको थियो ।
त्यसयता सिआइबीले प्रसाईंमाथि बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको हो । मेडिकल व्यवसायीसमेत रहेका राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले तोकेका ुजनकमान्डरु प्रसाईं हाल राज्य विरूद्धको कसुर, ज्यानमार्ने उद्योग र संगठित अपराध कसुरको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
चैत २९ गतेदेखि हिरासतमा रहेका उनलाई सिआइबीले बयानका लागि विशेष सरकारी वकिलको कार्यालय लगिएको थियो ।
सरकारी वकिल कार्यालयले विभिन्न प्रश्नहरू तयार गरी उनीसँग बयान लिएको हो । प्रसाईंसँग गत सोमबार, मंगलबार र बुधबार तीन दिन बयान भएको हो । सिआइबीका प्रमुख एवं एआइजी चन्द्र कुँवेर खापुङले उनको बयान गराउने काम लगभग सकिएको बताए । उनले बैंकिङ कसुरको मुद्दामा अनुसन्धान गर्न भनेर प्रसाईंलाई थप हिरासतमा नराखिने उल्लेख गरे ।
सिआइबीले अनुसन्धान गर्दा प्रसाईंले ९ वटा बैंक तथा वित्तीय संस्थाहरूबाट विभिन्न मितिमा ऋण लिएको खुलेको थियो । उनले गत असोज मसान्तसम्म सात अर्ब २५ करोड ८७ लाख रुपैयाँ ऋण लिएको खुलेको छ । जसमध्येबाट २७ करोड भन्दा बढी रकम भने ‘राउण्ड ट्रिपिङ’ गरेको अर्थात गलत कारोबार देखाएको खुलेको हो ।
विगत चार वर्षदेखि बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिलाई प्रवाह भएको कर्जाको भुक्तानी गर्ने भाखा नाघेर कर्जाको बक्यौता साँवा व्याज भुक्तानी नियमित नभएको पनि प्रहरीको अनुसन्धानमा देखिएको थियो ।

























