
झापा । झापाबाट प्रहरीले बुधबार साँझ लागुऔषधको कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध बिक्री र खरिद गर्नेहरु रहेका छन् ।
पक्राउ परेकाको साथबाट लागुऔषधसहित करिब साढे २ लाख रूपैयाँ बरामद भएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सुरुमा गौरीगञ्ज गाउँपालिका–३ बाट बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकलका चालक भारत किसनगन्ज खनियाबाद–७ फूलबरिया बस्ने १९ वर्षीय मोनाजिर आलमलाई साँझ ५ः३० बजेतिर पक्राउ गरिएको थियो ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले आलमको साथबाट बरामद गरेको मोबाइलमा लागुऔषधको भिडियो फेला पार्यो । सोधपुछ गर्दा आलमले उक्त लागुऔषध भारत किसनगन्ज खनियावाद–५ फत्तेपुरका ५८ वर्षीय भोला ठाकुरसँग रहेको बताए ।
त्यसलगत्तै प्रहरीले ठाकुरको खोजी तीव्र बनायो । त्यस क्रममा ठाकुर गौरीगन्ज–३ बाट पक्राउ परे । उनको साथबाट ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने वस्तु १ सय ग्राम, नाइट्राजापाम १ सय ट्याब्लेट र कोडिन २ बोतल बरामद भएको डीएसपी खड्काले बताए ।
उनका अनुसार ठाकुरको साथमा रहेको लागुऔषध खरिद गर्न गएका दमक नगरपालिका–५ का सञ्जय भनिने भूपेन्द्र राईलाई समेत पक्राउ गरिएको छ । ना १ च ९१६२ नम्बरको कारभित्र बसिरहेको अवस्थामा राईलाई गौरीगन्ज–३ बाट पक्राउ गरिएको जानकारी खड्काले दिए ।
उनका अनुसार ठाकुरले बिक्रीका लागि राखेको लागुऔषध खरिद गर्न राई गएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । राईको साथबाट लागुऔषध खरिद गर्नलाई बोकेको २ लाख ४३ हजार ५ सय नेपाली रूपैयाँसमेत बरामद गरिएको खड्काले बताए ।
कारबाट लागुऔषधको नापतौलमा प्रयोग गर्ने डिजिटल तराजुसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका व्यक्तिसहित बरामद भएको लागुऔषध, डिजिटल तराजु, कार र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गौरीगन्जमा राखिएको छ ।
पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























