
झापा । झापाको मेचीनगरबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१० धुलाबारीबाट उनीहरु पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार पक्राउ गरेर सातै जनालाई काठमाडौं लगेको छ । उनीहरु अवैध वित्तीय कारोबारमा संलग्न रहेको दाबी प्रहरीको छ ।
पक्राउ पर्नेमा कविस मारु, अनुज मारु, निर्मल राई, दीपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल र सुनील राई रहेका छन् । पक्राउ पर्नेमध्ये केही व्यक्ति व्यापारिक पृष्ठभूमिका छन् । कविस मारु गिफ्टोरियम नामक आयात–निर्यात कम्पनी सञ्चालन गर्दै आएका व्यापारी हुन् ।
प्रहरीका अनुसार उनीहरूले अवैध तरिकाले ठूलो रकम परिचालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । ‘अर्बौं रूपैयाँ बराबरको अवैध कारोबारमा संलग्न भएको पाइएपछि पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको हो,’ प्रहरीका १ अधिकारीले भने ।
पक्राउ परेकाबाट कति रकम बरामद भयो भनेर प्रहरीले सार्वजनिक गरेको छैन । सीआईबीका प्रवक्ता एवं एसपी युवराज खड्काका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।
झापाबाट पक्राउ परेका ७ जनाको ‘कनेक्सन’ यसअघि पक्राउ परेकासँग रहेको प्रहरीको भनाइ छ । यसअघि अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई देशका ११ जिल्लाबाट सीआईबीले पक्राउ गरेर कारबाहीको दायरामा ल्याएको थियो ।
त्यतिबेला पक्राउ परेका व्यक्तिले १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढीको अवैध वित्तीय कारोबार गरेको प्रहरीको भनाइ छ । तिनै व्यक्तिहरुसँग ‘कनेक्सन’ देखिएपछि झापाबाट थप ७ जनालाई पक्राउ गरिएको सीआईबी स्रोतले बतायो ।

























