
विराटनगर । विवाहित महिलासँग प्रेम सम्बन्ध राखेकै कारण सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ किसनपुरका २८ वर्षीय अरविन्दकुमार पण्डितले ज्यान गुमाउनु परेको तथ्य बाहिर आएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–८ स्थित उखु खेतमा वैशाख ३० गते बिहान पण्डितको शव फेला परेको थियो । रहस्यमय घटनाको प्रहरीले अनुसन्धान अघि बढाएपछि उनको हत्या भएको पत्ता लागेको हो । उनको हत्या वैशाख २८ गते बिहान भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पण्डित र ईश्वरपुर–६ की २५ वर्षीया नजिमा खातुनबीच प्रेम सम्बन्ध थियो । चैत १९ गते उनीहरू गाउँबाट भागेर भारत पुगेका थिए । केही दिनपछि नेपाल फर्किए ।
गाउँमा पञ्चायत बस्यो । गाउँका भद्रभलादमी र पञ्चहरुले नजिमालाई पुनः श्रीमान मोस्तकिम अन्सारीसँग मिलाएर पठाए । पण्डितसँग छुटाए । तर, पण्डितले नजिमासँग सम्पर्क तोडेनन् ।
उनी कहिलेकाहीँ नजिमाको घरमा समेत आउजाउ गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जसका कारण नजिमाका श्रीमानले योजनाबद्ध रूपमा अरविन्दको ज्यान लिने निर्णय गरेको प्रहरी अधिकारी बताउँछन् ।
प्रहरीका अनुसार वैशाख २८ गते पण्डितले नजिमालाई भेट्न फुलजोर बाबा मन्दिरनजिक बोलाएका थिए । सो जानकारी पाएपछि उनका श्रीमान मोस्तकिम अन्सारी केही आफन्तसहित त्यहाँ पुगे ।
उनीहरूले मन्दिर नजिकैबाट पण्डितलाई नियन्त्रणमा लिएर ईश्वरपुर–८ फुलजोरमै हत्या गरेको प्रहरीको भनाइ छ । हत्या गरेपछि शव झारपातले छोपेर सिसौको रुखमुनी राखिएको थियो ।
एक दिनपछि वैशाख २९ गते राति उनीहरूले शव त्यहाँबाट उठाएर थकरिया चौरीस्थित उखु खेतमा फालिदिएको प्रहरीले जनाएको छ । हत्या प्रकरण केही दिनसम्म रहस्यमय देखिए पनि घटनाको यथार्थ रहस्य चप्पलबाट खुलेको हो ।
अभियुक्त मोहम्मद हुसेन मोमिनले मृतकको चप्पल लगाइरहेका थिए । संयोगवश मृतकका बुवाले त्यो चप्पल चिनेर प्रहरीलाई खबर गरे । प्रहरीले मोमिनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा सिंगो योजना र हत्याको पर्दाफास भएको हो ।
उनकै बयानका आधारमा हत्यामा संलग्न ईश्वरपुर नगरपालिका–६ का ४३ वर्षीय मोहमद हुसेन मोमिन, ४० वर्षीय सुयव अन्सारी, २५ वर्षीय आलम अन्सारी, ५४ वर्षीय सलाउद्दिन अन्सारी, २९ वर्षीय मोस्तकिम अन्सारी र उनकी श्रीमती २५ वर्षीया नजिमा खातुन पक्राउ परेका छन् ।
पक्राउ परेका ६ जनालाई नै प्रहरीले सोमबार सार्वजनिक गरेको छ । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।

























