तीनकुनेको हिंसात्मक प्रदर्शन, प्रहरीले सक्यो अनुसन्धान

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ७, बुधबार १६:०४

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित घटनाको अनुसन्धान प्रहरीले पूरा गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शन हिंसात्मक बनेसँगै पत्रकार सुरेश रजकसहित २ जनाको ज्यान गएको थियो । प्रदर्शन आगजनी र तोडफोडमा परिणत भएको थियो ।

लामो समय लगाएर उक्त घटनाको अनुसन्धान सकेको प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा पेस गर्ने छ । सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पर्दै अभियुक्तविरुद्ध अदालतमा मुद्दा दायर गर्ने छ ।

प्रहरीले विवादस्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिएको छ। आगजनीमा संलग्नहरू विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ ।

दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनका सहभागीले प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा आगजनी गरेका थिए । आगजनीबाट भवनमा पूर्ण रूपमा क्षति पुगेको थियो ।

आगजनीमा संलग्न रामेछापका २२ वर्षीय सरोज गौतम, अछामका २० वर्षीय गोकर्ण शाही उर्फ अनुप विक्रम ठकुरी र दुर्गा प्रसाईंलगायत ८ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको हो । अभियुक्तविरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध मुद्दामा अभियोजन गर्नुपर्ने राय दिएको हो ।

पक्राउ परेकामध्ये राज्यविरुद्धको कसुरमा म्याद थप भएका २६ जना र आपराधिक उपद्रव मुद्दामा म्याद थप भएका २७ जना अझैसम्म प्रहरी हिरासतमै छन् । अरु केही आरोपी हाजिरजमानीमा छुटेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.