
काठमाडौं । सामाजिक सञ्जालमार्फत नजिकिएर हनी ट्रयापमा पार्दै पैसा असुलेको आरोपमा २ जना महिला पक्राउ परेका छन् ।
कैलाली घर भइ काठमाडौं बस्दै आएकी ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ भनिने आँचल चौगुठीलाई प्रहरीले पक्राउ गरेको हो । हनी ट्रयाप गरेर ५ लाख रुपैयाँ असुलेको पाइएपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले बताए ।
आचार्यका अनुसार उनीहरु सामाजिक सञ्जाल फेसबुकमार्फत १ व्यक्तिसँग नजिकिएका थिए । सम्पर्क बढाएर उनीहरुले ठमेलको होटलमा भेट्न बोलाए । खाजा र मादक पदार्थ सेवन गर्न लगाए ।
मदिराको नसामा लट्ठ भएपछि उनीहरुले ती व्यक्तिको अश्लिल फोटो र भिडियो बनाइएर ‘ब्ल्याकमेलिङ’ गरेको एसपी आचार्यको भनाइ छ । तामाङ र चौगुठीले भिडियो र फोटोको स्क्रिनसट गरेर म्यासेन्जरमा पठाउँदै ती व्यक्तिसँग काठमाडौंमा घर र ४ आना जग्गा मागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
घर र जग्गा नदिए मुद्दा हाल्ने धम्की दिँदै तत्काल ती पुरुषलाई ५ लाखको चेक काट्न बाध्य पारेको पाइएको एसपी आचार्यको भनाइ छ । उनका अनुसार दुवै जना बुधबार काठमाडौं महानगरपालिका–११ हनुमानस्थानबाट पक्राउ परेका हुन् ।
साथबाट २ वटा मोबाइल र आँचल चौगुठीको नाममा काटेको प्राइम कमर्सियल बैंकको ५ लाखको चेक प्रहरीले बरामद गरेको छ । पक्राउ परेका महिलाविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

























