भारतीय नक्कली नोटका कारोबारी अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ९, शुक्रबार ०७:०८

विराटनगर । भारतीय नक्कली नोटका कारोबारी बाराका युनुस अन्सारीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा समेत अनुसन्धान हुने भएको छ ।

भारतीय जाली नोटको कारोबारमा अदालतबाट दोषी ठहर भएपछि उनी लामो समयदेखि कैद सजाय भुक्तान गरिरहेका छन् । कैदको अवधि सकिनै लाग्दा प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा समेत अनुसन्धान अघि बढाउने तयारी गरेको हो ।

कैद भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुट्नै लागेका अन्सारीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप अनुसन्धान गर्न लागेको छ । सजाय भुक्तान सकेर अन्सारी आइतबार छुट्दै छन् ।

अन्सारी रिहा हुने जानकारी पाएको सीआईबीले थप अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई बुधबार पत्र पठाएको छ । कारागारबाट छुटेलगत्तै उनलाई नियन्त्रणमा लिने प्रहरीको तयारी छ ।

अन्सारी भारतीय नक्कली नोटको कारोबारमा बारम्बार जोडिएका थिए । पहिलोपटक भारतीय नक्कली नोटसहित २०६६ साल पुस १३ गते पक्राउ परे । त्यतिबेला २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोट फेला परेको थियो । पक्राउ परेका बेला उनी नेसनल टेलिभिजनका अध्यक्ष थिए ।

२०६७ साल असोज ६ गते ४० लाख ९१ हजार भारतीय जाली नोट बरामद हुँदा समेत उनको नाम जोडिएको थियो । अदालतले दोषी ठहर गरेपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर २०७० असोज १८ गते उनी रिहा भए ।

त्यसपछि पुनः भारतीय नक्कली नोटको कारोबारमा संलग्न भएको प्रमाणहरुबाट पुष्टि हुन्छ । उनी पुनः २०७० माघ १० गते ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । सजाय भुक्तान गरेर छुटेका उनी पुनः २०७६ जेठ १० गते ७ करोड ६७ लाख ९४ हजार नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः पक्राउ परे ।

उक्त प्रकरणसँग जोडिएको मुद्दामा अदालतले अन्सारीलाई दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार रूपैयाँ जरिबाना र १ हजार ३ सय रूपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । उक्त सजाय भुक्तान गरेर उनी आइतबार छुट्ने भएका हुन् ।

बाहिर रहँदा उनीमाथि सुरक्षा चुनौती बढ्ने प्रहरीको विश्लेषण छ । बाहिर रहँदा अन्सारी असुक्षित हुने भन्दै प्रहरीले हिरासतमै राखेर सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाउने तयारी गरेको हो ।

लामो समयदेखि नक्कली भारतीय नोटको कारोबार र ओसारपसारमा संलग्न उनी बारम्बार भारतीय अपराधीको निसानामा पर्दै आएका छन् । उनलाई सिध्याउन भारतीय अपराधिक गिरोह लागेको सुरक्षा विश्लेषण छ ।

केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेला अन्सारीमाथि गोली प्रहारसमेत भएको थियो । भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले २०६७ साल फागुन २६ गते गोली हानेर कारागारभित्रै उनको हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

जेलभित्रै रहेका बेला उनको नाम सुन तस्करी प्रकरणमा समेत मुछिएको थियो । अन्सारीले जेलभित्रैबाट सुन तस्करी गर्ने गरेको आरोप लागेको हो । अन्सारी जेलभित्र रहे पनि उनकै योजनामा गिरोहले बाहिर बसेर काम गर्ने गरेको प्रहरी स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.