नेपाल बैंकका सुरक्षा गार्डको हतियार र गोली चोरी

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ९, शुक्रबार ०९:१०
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा रहेको नेपाल बैंकका सुरक्षा गार्डको हतियार र गोली चोरी भएको छ ।

सुरक्षा गार्ड सुत्ने कोठाको दराजबाट १ नाले १२ बोरको बन्दुक र २० राउण्ड गोली शुक्रबार बिहानका राति चोरी भएको मधेश प्रदेशका प्रहरी प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार बैंकका गार्डहरु सप्तरीको शम्भुनाथ नगरपालिका–७ का अन्दाजी ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरुप नगरपालिका–५ का अन्दाजी ४४ वर्षीय पर्शुराम चौधरी कोठामा सुतिरहेका बेला हतियार र गोली चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुरक्षा गार्डले हतियार र गोली दरारमा राखेका थिए । राति सुतेका बेला कोठाभित्र छिरेका व्यक्तिले हतियार चोरी गरेर लगेको एसएसपी कोइरालाको भनाइ छ । उनका अनुसार सुरक्षा गार्डको मोबाइल र झोलासमेत चोरी भएको थियो ।

हतियार र गोली चोरी भएको जानकारी सुरक्षा गार्डले प्रहरीलाई दिएका हुन् । चोरी गरेर फरार भएका व्यक्ति पनि पक्राउ परेका छन् । चोरीमा संलग्न खडक नगरपालिका–६ का २० वर्षीय अप्साद अन्सारीलाई पक्राउ गरिएको जानकारी कोइरालाले दिए ।

हतियार र गोली चोरी गरेपछि उनी भागेर सिरहाको लाहान पुगेका थिए । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय लाहानको सहयोगमा अन्सारीलाई बिहानका राति ३ः४५ बजेतिर पक्राउ गरेको उनले बताए ।

अन्सारी पक्राउ परेपछि हतियार र गोलीसहितका चोरी भएका सामान पनि प्रहरीले बरामद गरेको छ । सोधपुछ गर्ने क्रममा उनले सामान देखाएका थिए । चोरी गरेपछि हतियार र गोली बैंकनजिकै झाडीमा लुकाएर अन्सारी फरार भएको पाइएको एसएसपी कोइरालाको भनाइ छ ।

‘पक्राउ परेकाले लुकाएर राखेको अवस्थामा हतियार र गोली बरामद भएको छ । मोबाइलसहितका सामान पनि फेला पर्यो,’ उनले भने । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए । उनले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.