
विराटनगर । संखुवासभामा दाहसंस्कारको तयारी गरिएको बालिकाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भोटखोला गाउँपालिका–४ की ६ वर्षीया युनिका तामाङको शव नियन्त्रणमा लिएको हो ।
शव नियन्त्रणमा लिएर प्रहरीले अभिभावकलाई समेत पक्राउ गरेको छ । ‘बालिकाको शवसहित अभिभावकलाई बिहीबार नियन्त्रणमा लिइएको हो । थप अनुसन्धान भइरहेको छ,’ संखुवासभा प्रहरीका सूचना अधिकारी, इन्स्पेक्टर अभिषेक श्रेष्ठले भने ।
उनका अनुसार बालिकाका बुवा गोपाल तामाङ र काकी कल्पना तामाङलाई नियन्त्रणमा लिइएको छ । बालिकाको शवलाई जिल्ला अस्पताल खाँदबारीको शवगृमा राखिएको श्रेष्ठले बताए ।
गत वैशाख ३० गते गोपाल र उनकी भाइबुहारी कल्पनाबीच घरायसी विवादमा झगडा भएको थियो । त्यस क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको पाइएको प्रहरीले जनाएको छ ।
लडेर घाइते भएकी युनिकालाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बालिकाको बुधबार मृत्यु भएको हो ।
मृत्यु भएपछि अभिभावकले शव दाहसंस्कारका लागि घरतिर लिएर जाँदै थिए । घर लैजाँदै गर्दा प्रहरीले शवसहित बालिकाका बुवा र कार्कीलाई नियन्त्रणमा लिएको हो । दुवै जनामाथि सोधपुछ गरिरहेको प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

























