
विराटनगर । मोरङको बाटो भएर धनकुटातर्फ जाँदै गरेका पाँचथर घर भएका १ जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ ।
धनकुटाको प्रहरी चौकी ६ नम्बर बुधबारेको टोलीले चेकजाँचका क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ का २८ वर्षीय मौसम लिम्बूलाई पक्राउ गरेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार लिम्बूलाई चौबीसे गाउँपालिका–१ बाट साँझ ६ बजेतिर पक्राउ गरिएको हो ।
लिम्बूको झोलाबाट लागुऔषध ट्रमाडोल ९ सय ट्याब्लेट र डेमेक्लोसाइक्लिन नामक प्रतिबन्धित औषधि ९ सय ट्याब्लेट बरामद भएको डीएसपी खनालले बताए । प्रदेश १–०१–०१५ प ३१४६ नम्बरको मोटरसाइकलमा मोरङको लेटाङबाट धनकुटाको बुधबारे जाँदै गर्दा लिम्बू पक्राउ परेका हुन् ।
बरामद भएको लागुऔषध, प्रतिबन्धित औषधि र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित लिम्बूलाई इलाका प्रहरी कार्यालय राजारानीमा राखिएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । थप अनुसन्धानसमेत सुरु गरिएको जानकारी खनालले दिए ।

























