नवराजपुरका पूर्वअध्यक्षसहित १३ जनाविरुद्ध मुद्दा

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार १८:४३

काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मङ्गलबार गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्वउपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इञ्जिनियर कृष्णा साह, सबइञ्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्यविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दामा दायर भएको हो ।

वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष मदन यादव, वडा नं‍. ५ का पूर्ववडाध्यक्ष मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी प्रमुख सञ्जयप्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।

७ लाख ७५ हजार ४३६ रूपैयाँको लागत रहेको भवन उपभोक्ता समितिमार्फत १५ असार २०७७ मा निर्माण सम्पन्न गर्ने गरी ३२ जेठ २०७७ मा गरेको सम्झौतामा भ्रष्टाचार भएको अख्तियारले उल्लेख गरेको छ ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा डीपीआर तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा प्रक्रिया र नियम मिचेको, गुणस्तरमा प्रश्न उठेको आरोप–पत्रमा उल्लेख छ ।

गलत प्राविधिक मूल्यांकनसहित उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १८९ रूपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारको आरोप–पत्रमा उल्लेख छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीलादेवी यादवलाई समेत मुद्दा लगाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.