धनकुटाबाट फरार प्रतिवादीहरु पक्राउ, भएको थियो कैद र जरिबानाको फैसला

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १६, शुक्रबार १५:१०
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । अपराधिक घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भएपनि कैद र जरिबाना भुक्तान नगरिकन फरार रहेका प्रतिवादीहरुलाई धनकुटाबाट प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–१० धारापानीका ४५ वर्षीय प्रकाश राई र साँगुरीगढी–३ का इम्लिखाका ५४ वर्षीय महेन्द्रकुमार याक्खा पक्राउ परेका हुन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय राजारानी र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले अलगअलग स्थानबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी एवं इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठका अनुसार अलगअलग मुद्दामा अदालतले दोषी ठहर गरेको भएपनि दुवै जना कैद र जरिबाना भुक्तान नगरिकन भागिरहेका थिए । फरार रहेका राईलाई ज्यान मार्ने उद्योग मुद्दामा धनकुटा जिल्ला अदालतले १ वर्ष ६ महिना (१८ महिना) कैद र २० हजार रूपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो ।

त्यस्तै, याक्खालाई हातहतियार खरखजाना मुद्दामा ५ महिना कैद र ५ हजार रूपैयाँ जरिबाना हुने फैसला भएको थियो । बिहीबार पक्राउ परेका दुवै जनालाई प्रहरीले शुक्रबार अदालतमा बुझाएको थियो ।

प्रहरीले पेस गरेपछि अदालतले सजाय भुक्तानका लागि उनीहरुलाई कारागार चलान गरेको छ । इन्स्पेक्टर श्रेष्ठका अनुसार धनकुटामा फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.