डीआईजीले गरे जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १६, शुक्रबार १६:३२

विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) ईश्वर कार्कीले आज (शुक्रबार) जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गरेका छन् ।

कार्कीले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गरेका हुन् । साथै, जिल्ला प्रहरी परिसरमा वृक्षरोपणसमेत गरेका छन् ।

निरीक्षणका क्रममा उनले जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका युनिटका प्रहरी प्रमुख एवं प्रहरी कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिए । कोशी प्रदेशको राजधानी, औद्योगिक तथा व्यापारिक केन्द्र रहेको मोरङमा खटिने प्रहरी कर्मचारीहरुलाई नियमित रुपमा चुस्त दुरुस्त भएर काम गर्न उनको निर्देशन छ ।

नागरिकको विश्वास जित्दै सुरक्षाको प्रत्याभूति हुने गरी प्रहरीले सेवा प्रदान गर्नुपर्नेमा डीआईजी कार्कीको जोड छ । समाजमा अप्रिय घटना हुन नदिन तथा घटना भएमा सूक्ष्म ढंगले सफल अनुसन्धान गरेर टुंगोमा पुर्याउँदै अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले निर्देशन दिए ।

प्रहरीले पीडितलाई न्याय दिने हिसाबले काम गर्नुपर्ने उनले बताए । कोशी प्रदेश पर्यटन वर्ष, २०८२ को अवसरमा नेपाल भ्रमणका लागि आउने विदेशी पाहुना एवं पर्यटकको यात्रा सहज र सरल बनाउन प्रहरीले भूमिका खेल्नुपर्नेमा कार्कीको जोड छ ।

पर्यटकको सत्कार र सम्मानका साथै उनीहरुलाई गुणस्तरीय प्रहरी सेवा प्रदान गर्न उनले निर्देशन दिए । उनले प्रहरी मानसिक र शारीरिक रूपमा स्वस्थ्य हुनुपर्नेमा जोड दिएका छन् । सुरक्षाकर्मी स्वस्थ्य भएमा मात्रै आमनागरिकले सुरक्षाको प्रत्याभूति गर्न सक्ने डीआईजी कार्कीले बताए ।

डीआईजी कार्कीको निरीक्षण भ्रमणका क्रममा मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) नारायणप्रसाद चिमरीयाले मोरङ जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्ययोजना, सुरक्षा चुनौती र प्रदेश प्रहरी कार्यालयसँगको अपेक्षाका बारेमा जानकारी गराएका थिए । साथै, विभिन्न प्रहरी युनिटका प्रमुखहरुले आआफ्नो एरियाको वस्तुस्थितिलगायत विविध विषयमा प्रदेश प्रहरी प्रमुख कार्कीलाई अवगत गराए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.