
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्डमा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको आज २३ वर्ष पूरा भएको छ ।
२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्गलगायतको हत्या भएको थियो ।
दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैंलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिए पनि त्यसलाई विश्वास गरिएको छैन ।
उच्च सुरक्षा घेराभित्र भएको हत्याकाण्डको रहस्यकै अझै खुेलेको छैन ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको वंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए ।नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति भयो र गणतन्त्र स्थापनाको घोषणा भएको थियो ।
प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२–६३ मा दोस्रो जनआन्दोलन मार्फत राजतन्त्र फालेका थिए ।
दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको उक्त प्रतिवेदन रानाभाटले सार्वजनिक गरेका थिए । त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन ।

























