विराटनगरमा थुनुवाको मृत्यु : लागुऔषधको लतले सकियो पुण्यबहादुरको जीवन

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ जेष्ठ २२, बिहीबार १६:३२

विराटनगर । जीवनको किशोरावस्थामै साथीभाइको गलत संगतमा फसेका पुण्यबहादुर श्रेष्ठको कथा निक्कै त्रासदीपूर्ण छ । युवावस्थामा प्रवेश गर्नै लाग्दा उनी लागुऔषधको दलदलमा चुर्लुम्मै डुबे ।

बारम्बारको सुधारका प्रयासहरु सफल भएनन् । परिवार, समाज र राज्यको प्रयासको बाबजुद न उनले लागुऔषधको लत त्याग्न सके । न त परिवार र समाजमा फर्किन पाए । अब त उनको जीवन नै सकिएको छ ।

Advertisement

झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुरको जीवनले लागुऔषध दुर्व्यसन, अपराध र उपेक्षाको दुःखान्त यात्रा बोकेको छ । सुरुवाती दिनमा साथीसंगतको प्रभावमा लागुऔषधको कुलतमा फसेका उनी बारम्बार प्रहरी हिरासत, कारागार र सुधार केन्द्रमा पुगे ।

परिवारले सुधार केन्द्रमा राखे पनि पुण्यमा परिवर्तन आएन । सुध्रिने छाँटकाँट नै देखिएन । अन्ततः परिवारसमेत आजित बनेर पन्छियो । परिवारसँग उनलाई बेवास्ता गर्नुको विकल्प मात्रै बाँकी थियो ।

उनी प्राय घरमा जाँदैन थिए । गइहाले पनि अभिभावकले थाहै नपाइकन घरकै सरसामान उठाएर हिँड्थे । धेरै दिनसम्म घर फर्किंदैन थिए । त्यसपछि परिवारको बेवास्तामा पर्न थाले ।

पारिवारिक आर्थिक अवस्था कमजोर छ । जीविका चलाउन बुवा–आमा ज्यालामजुरी गर्छन् । सम्पत्तिका नाममा ११ धुर जग्गामा बनेको घर मात्रै छ ।

राखियो हिरासतमा, मृत्यु अस्पतालमा

साइकल चोरी गर्न खोज्दा देखेर पुगेका साइकल धनीलाई नै हातपात र अभद्र व्यवहार गरेको भनेर किटानी जाहेरी परेपछि जेठ १५ गते विराटनगरबाट पक्राउ गरेर पुण्यलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखियो । प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन १६ गते ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अचानक ज्वरो आउने, पेट दुख्ने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मंगलबार बिहान विराटनगरस्थित कोशी अस्पताल पुर्याइयो । उपचारकै क्रममा उनको मृत्यु भयो । पोस्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरिसकेको छ ।

पोस्टमार्टमको रिपोर्ट भने आउन बाँकी छ । डीएसपी जोशीका अनुसार पक्राउ परेपछि पुण्यले परिवार र आफन्तसमेत नरहेको बताएका थिए । तर, पुरानो मुद्दाको रेकर्ड हेरेर परिवारसम्म प्रहरी पुगेको जानकारी जोशीले दिए ।

पुण्यको मृत्यु ‘सेप्टिक सक’का कारण भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । कोशी अस्पतालका डाक्टर पुरन चन्द साहका अनुसार पुरानो घाउ र चोटका कारण रगतमा संक्रमण भएर ‘सेप्टिक सक’ भएको प्रारम्भिक अनुमान छ । सुईका माध्यमबाट लागुऔषध सेवन गर्नेको स्वास्थ्य अवस्था बिग्रियो भने रगतमा संक्रमण भएर ‘सेप्टिक सक’ हुने उनले बताए ।

पुण्य सुईमार्फत लागुऔषध प्रयोग गर्ने दुर्व्यसनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको थियो । ‘दुर्व्यसनीहरु एउटै सुई धेरै जनाले प्रयोग गर्छन् । यस्तो संक्रमण प्राय सुई साटासाट गर्दा सर्छ । अनि लागुऔषध प्रयोगकर्तालाई ‘सेप्टिक सक’ हुने सम्भावना बढी रहन्छ,’ डा. साहले भने, ‘बायाँ हात र खुट्टामा पुराना खतहरु भेटिए । तिघ्रामा सुई हानेका डोबहरु थिए । उपचारका क्रममा पनि पुण्यले आफू लागुऔषध सेवनकर्ता भएको बताउँथे ।’

अपराधै अपराध

पुण्यलाई सुधार्न परिवारले मात्रै हैन, राज्यले पनि ठूलै प्रयास गरेको देखिन्छ । तर, सबै प्रयास असफल भए । अन्ततः ज्यान गुम्यो । लागुऔषध दुर्व्यसनी हुँदै उनी अनेक अपराधमा संलग्न हुन थाले । बारम्बार प्रहरी हिरासतमा बसे । हिरासत हुँदै उनी कारगारसम्म पुगे ।

२०७४ सालयता ४ पटक मुद्दा चलिसकेको छ । प्रहरीले पक्राउ गरेर ३ पटक लागुऔषध ऐनअन्तर्गतको र १ पटक अभद्र व्यवहारको मुद्दा चलाएको रेकर्ड छ । पहिलोपटक २०७४ साल भदौमा अभद्र व्यवहारको अभियोगमा पक्राउ परेपछि पुण्यको अपराध यात्रा सुरु भयो ।

त्यसयता २०७९ सालमा मात्रै २ पटक लागुऔषध मुद्दामा पक्राउ परे । २०८१ सालमा पनि त्यही अभियोग लाग्यो । जुनसुकै पटक पक्राउ परे पनि छुटेपछि फेरि उही दलदलमा फर्किन्थे ।

पुण्यको सीआरएस हेर्दा पहिलोपटक इलाका प्रहरी कार्यालय इटहरीले उनीविरुद्ध २०७४ साल भदौमा अभद्र व्यवहारको मुद्दा चलाएको पाइयो । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङबाट २०७९ जेठ, इलाका प्रहरी कार्यालय दमकबाट २०७९ असोज र इलाका प्रहरी पथरीबाट २०८१ माघमा लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलेको रेकर्ड छ ।

दमक प्रहरीले लागुऔषध सेवनमा चलाएको मुद्दामा अदालतले उनलाई कारागार चलान गरेको थियो । तर, उनले कानुनविपरीतका गतिविधि गर्न छाडेनन् । पछिल्लोपटक विराटनगरबाट पक्राउ परेर पाँचौंपटक मुद्दा चलाउन अनुसन्धान जारी रहेका बेला उनको मृत्यु भएको हो ।

परिवारले गर्न छाड्यो वास्ता

आमा धनमायालाई उद्रित गर्दै प्रहरीले भन्यो, ‘लागुऔषधको दुर्व्यसनमा फसेपछि घरको सामान लगेर बेच्ने, चोरी गर्ने र लामो समयसम्म आफैं हराउने तथा घर नफर्किने भए । सुधार्न जति प्रयास गरे पनि केही लागेन । त्यसपछि वास्तै गर्न छाडियो ।’ प्रहरीका अनुसार २०८१ साल पुसपछि उनी परिवारको सम्पर्कमा थिएनन् ।

ज्यालामजुरी गरेर गुजारा चलाउने बाबु–आमा पुण्यको उपचारदेखि सुधार केन्द्रसम्मका प्रयासले आर्थिक, मानसिक र भावनात्मक रूपमा थलिएका थिए । ‘उनी लागुऔषध प्रयोगकर्ता रहेछन् । सुधार्न धेरै प्रयास भएको देखिन्छ । तर, सम्भव भएनछ । त्यसपछि आजित भएर परिवारले बेवास्ता गर्न थालेको पाइयो । पछिल्लो समय परिवारको सम्पर्कमै रहनेछन्,’ डीएसपी जोशीले भने ।

कहाँ चुक्यो राज्य ?

यस घटनाले राज्य लागुऔषध प्रयोगकर्ताको पुनःस्थापनाको जिम्मेवारीबाट चुकेको उजागर हुन्छ । दमक–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने जति प्रयास गर्दा पनि पुण्यको अवस्थामा सुधार ल्याउन नसक्नु दुर्भाग्य भएको बताउँछन् ।

‘साथीभाइको गलत संगतकै कारण लागुऔषधको कुलतमा फस्यो । हाम्रो वडामा लागुऔषध प्रयोगकर्ताको संख्या धेरै छ । पछिल्लो समय ३० जनाभन्दा बढी पक्राउ परिसके । तर, पनि दुर्व्यसनको अवस्था भयावह छ । नियन्त्रण गर्न सकिएको छैन,’ उनले भने ।

वडाध्यक्ष न्यौपाने ३ वर्षअघि साथीभाइसँग लागुऔषध सेवन गर्दै गरेको अवस्थामा आफूले पुण्यलाई भेटेपछि परिवारलाई जानकारी गराएको बताउँछन् । ‘उसका बारेमा आमालाई सुनाएको थिएँ । तर, परिवारका सदस्य नै आजित भइसकेका रहेछन् । लागुऔषध सेवनका लागि घरका सामान चोरी गरेर बेच्ने गरेको समेत पाइयो,’ उनी भन्छन्, ‘परिवारले सुधार केन्द्रमा समेत राखे । केही नलागेपछि वास्ता गर्न छाडे । अन्ततः दुर्व्यसनले जीवन सकियो ।’

उनले लागुऔषधकै कारण कुनै व्यक्तिको ज्यान जानु र परिवार एवं राज्यले समेत सुधार्न नसक्नु चिन्ताको विषय भएको बताए । ‘पुण्यको मृत्यु भएपछि शव घरमा लैजानलाई शववाहनदेखि लिएर सबै कुराको व्यवस्था मैले नै मिलाइदिएँ,’ वडाध्यक्ष न्यौपानेले भने ।

राज्यको नीतिमा गम्भीर प्रश्न

नेपाल प्रहरीका पूर्वडीएसपी रामजी कटुवाल राज्यकै सुधार नीति र अभ्यासप्रति गम्भीर प्रश्न उठाउँछन् । ‘आफ्नो ‘ट्रयाक’ छाडेर कुलतमा फसिसकेका लागुऔषध प्रयोगकर्तालाई प्रहरीले पक्राउ गरेर थुन्दा मात्रै समस्याको समाधान हुँदैन । सुधार र पुनःस्थापनाको नीति चाहिन्छ । तर, राज्य त्यसमा चुकिरहेको छ,’ उनले भने ।

उनले प्रहरीलाई सुधारको जिम्मा दिइएको जस्तो देखिए पनि त्यो दीर्घकालीन समाधान नभएको बताए । ‘सेवनकर्तालाई सुधार केन्द्रगृह वा परामर्श केन्द्रमा पठाउनु पर्छ । बारम्बार मुद्दा चलाएर उनीहरु सुध्रिन नसक्नु हाम्रो सुरक्षा र पुनःस्थापनाको ढाँचामाथि प्रश्न हो,’ कटुवाल भन्छन् ।

‘लागुऔषध सेवनकर्ताको मानसिक स्वास्थ्य कमजोर भइसकेको हुन्छ । मानसिकसँगै अन्य स्वास्थ्य समस्या पनि जटिल बन्दै जान्छ । शरीरमा लागुऔषधको धेरै असर परेको हुन्छ । स्वास्थ्य जोखिमको हिसाबले सेवनकर्तालाई सुधार गर्ने र उनीहरुको ज्यान बचाउनेतिर सरकार लाग्नुपर्छ,’ उनले भने । सेवनकर्तालाई सुधारेर सामान्य नागरिकजस्तो जीवनयापन गर्ने बनाउन परामर्श, चिकित्सकीय सेवा, समाजको साथ र पुनःस्थापनाको खाँचो पर्ने उनले बताए ।

‘सेवनकर्तालाई सुधार्नेतर्फ राज्यले ध्यान दिँदैन । आवश्यक परामर्श पनि दिन सक्दैन । सुधार र पुनःस्थापनामा राज्य लाग्नुपर्छ,’ कटुवाल भन्छन् । पूर्वडीएसपी कटुवाल राज्यले गम्भीर भएर काम गर्न नसक्दा लागुऔषधको अवस्था भयावह बनेको र नियन्त्रण सम्भव नभइरहेको बताउँछन् । परिवार र समाज लागुऔषधको दलदलमा फसिसक्दा पनि राज्य सामान्य खालका गोष्ठी र सेमिनारमा मात्रै अल्झिएर बसेको उनको भनाइ छ ।

उनले लागुऔषधका सेवनकर्ता विभिन्न जघन्य अपराधमा संलग्न हुने गरेको बताए । ‘सेवनकर्तालाई मुद्दा चलाउनु र प्रहरीको हिरासतमा राख्नु समस्याको समाधान हैन । सुधार गरेर समाजमा पुनःस्थापना गराउनुपर्छ । तर, अन्य अपराधमा संलग्न भएको अवस्थामा भने राम्रोसँग स्वास्थ्य परीक्षण गरेर मात्रै थप कारबाही अघि बढाउनुपर्छ,’ कटुवालले भने, ‘अन्य अपराधमा संलग्न छैन र उ सेवनकर्ता हो भने सुधारका लागि उपचारको अन्य प्रबन्ध गर्नतिर लाग्नुपर्छ । त्यसमा राज्य चुकेको छ । पछिल्लो समय आत्महत्या गर्नेमा लागुऔषध सेवनकर्ता धेरै छन् ।’

पक्राउ गर्दा र मुद्दा चलाउँदा मात्रै लागुऔषध सेवनकर्ता नसुध्रिने उदाहरणका रूपमा पुण्यलाई लिन सकिने पूर्वडीएसपी कटुवालको भनाइ छ । ‘बारम्बार मुद्दा, हिरासत र सुधार केन्द्र, अनि अन्ततः मृत्यु । यो चक्र कुनै १ पुण्यका लागि मात्रै होइन । नेपालभरिका लागुऔषध दुर्व्यसनीहरूसँग जोडिएको यथार्थ हो,’ उनी भन्छन् ।

‘अपराधमा संलग्न व्यक्तिमाथि अनुसन्धान हुन्छ । उ कानुनी दायरामा आउँछ । तर, पटक–पटक कारबाही गर्दा पनि परिवर्तन आएन भने त्यहाँ केही न केही कमजोरी र समस्या छन् भनेर बुझ्नुपर्छ,’ उनले भने, ‘हाम्रो अनुसन्धान पद्धति तथा सुधार योजनामा समस्या हुन सक्छ । हिरासत र कारागारमा नै पो समस्या छ कि ? बारम्बार कारबाहीमा परेको व्यक्ति छुटिसकेपछि पुनः अपराधकै बाटोमा हिँड्नुले अनुसन्धान पद्धति, सुधारको योजना, हिरासत र कारागारको व्यवस्थापनमा प्रश्न उठेको छ ।’

अपराधमा संलग्नहरु नसुध्रिएको र पुनः अपराधमै फर्किएको अवस्थालाई हेरेर कमजोरी पहिल्याउँदै सुधार गर्नतर्फ राज्य लाग्नुपर्ने उनको भनाइ छ । कारबाहीमा परेको कुनै व्यक्तिले गल्ती महसुस गरेर सुधारको बाटोमा हिँड्नुपर्नेमा पुनः अपराधमा संलग्न हुनु दुर्भाग्यपूर्ण भएको कटुवालले बताए ।

उनले अभिभावकले पनि बेलैदेखि आफ्ना सन्तानको ख्याल गर्नुपर्ने बताए । ‘दैनिक आनीबानी निगरानी गर्नुपर्छ । शैक्षिक संस्थाले पनि विद्यार्थीको गतिविधिप्रति ध्यान दिनुपर्छ । सबैले आआफ्नो दायित्व पूरा गर्दा परिवार र समाज लागुऔषधको दलदलमा फस्नबाट जोगिन्छ,’ पूर्वडीएपसी कटुवालले भने ।

लागुऔषधको समस्या समाधानका लागि दुर्व्यसनविरुद्धको सघन योजना, उपचार, अभिभावक, शैक्षिक संस्था र सबै सरोकारवालाको सहकार्य एवं समवन्य आवश्यक रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.