विराटनगरको तुलसी सहकारी अपचलन : केदारनाथ शर्मालाई ६ वर्ष कैद, साढे ६७ करोड जरिबाना

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार १७:३१

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालत मोरङले सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले कैद तथा जरिबाना हुने फैसला सुनाएको हो । न्यायाधीश शर्माकै इजलासले अध्यक्ष शर्मासहित सहकारीकी सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक सन्दीप खवासलाई गत आइतबार दोषी ठहर गरेको थियो ।

सजाय निर्धारणका लागि बिहीबारलाई पेसी तोकिएको थियो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अध्यक्ष शर्मालाई ६ वर्ष कैद सजाय निर्धारण भएको छ । सचिव न्यौपाने र प्रबन्धक खवासलाई जनही २ वर्ष २ महिना कैद सजायको फैसला भएको उनले बताए ।

अदालतले अध्यक्ष शर्मालाई ६७ करोड ५९ लाख २१ हजार २ सय ६८ रुपैयाँ बिगो र ६७ करोड ५९ लाख २१ हजार २ सय ६८ रुपैयाँ जरिबाना हुने पनि फैसला सुनाएको छ । शर्माले थप २ करोड ७० लाख ३६ हजार ८ सय ५० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलासमेत भएको सूचना अधिकारी बुढाथोकीले बताए ।

त्यस्तै, खवासलाई २७ लाख बिगो र २७ लाख नै जरिबानाको फैसला भएको छ । पीडित राहत कोषमा उनले १ लाख ८ हजार जम्मा गर्नुपर्ने फैसला भएको छ ।

बुढाथोकीका अनुसार सचिव न्यौपानेको हकमा भने बिगो र जरिबाना तोकिएको छैन । पीडित राहत कोषमा ६ सय रुपैयाँ जम्मा गर्नुपर्ने अदालतको फैसला छ ।

३ वर्षभन्दा माथि कैद सजायको माग दाबी गरिएको मुद्दामा कसुर कायम भएको १ महिनाभित्रमा सजाय निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार बिहीबार सजाय निर्धारण भएको हो ।

अदालतले सहकारीकी उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईलाई भने सफाइ दिएको थियो । फरार रहेका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा भने मुल्तबीमा राखिएको छ ।

सहकारीका अध्यक्ष शर्मासहित ८ जनालाई प्रतिवादी बनाएर २०७९ साल चैत १२ गते ‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ कसुरमा मुद्दा दायर गरिएको थियो । अध्यक्ष शर्मा, सचिव न्यौपाने र क्षेत्रीय प्रबन्धक खवास मुद्दाको पुर्पक्षका लागि थुनामा थिए ।

अदालतको सजाय निर्धारण गरेको अवधि कारागारमा बसिसकेका कारण न्यौपाने र खवास भने अब छुट्ने छन् । मुख्य कार्यालय विराटनगर र ३ वटा शाखा कार्यालयबाट २१ हजार १ सय ५४ जना बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत अपचलन गरेको अनुसन्धानबाट पत्ता लागेको थियो ।

विराटनगरको तुलसी सहकारी ठगी : अध्यक्ष केदारनाथ शर्मा दोषी ठहर

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.