कोठामा मेसिन राखेर नक्कली नोट छाप्ने पक्राउ, लाखौं नक्कली नोट बरामद

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २३, शुक्रबार १४:४५

विराटनगर । झापाको मेचीनगर नगरपालिका–६ मा पर्ने काँकडभिट्टा बजारबाट प्रहरीले नक्कली नोट (खोटा मुद्रा) सहित १ जनालाई पक्राउ गरेको छ ।

काँकडभिट्टा बजार क्षेत्रमा रहेको नेपाल बैंकको कार्यालय अगाडि शंकास्पद अवस्थामा हिडडुल गरिरहेका तेह्रथुमको ओयाक्जुङ घर भइ झापाको कन्काई नगरपालिका–८ लक्ष्मीपुर बस्ने २८ वर्षीय गणेश भारतीलाई पक्राउ गरिएको हो ।

४ दिनअघि उनलाई पक्राउ गरी प्रहरीले जाँच र अनुसन्धान अघि बढाएको थियो । जाँचका क्रममा प्रहरीले उनको साथमा १ हजार दरको नेपाली नक्कली (खोटा मुद्रा) १ एक लाख रुपैयाँ फेला पारेको थियो ।

ती नोट उनी आफैंले छापेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनी बसेको कोठा पुगेर आज (शुक्रबार) प्रहरी निरीक्षक राजकुमार कार्कीसहितको टोलीले तलासी गरेको थियो ।

कोठामा विभिन्न दरका ५ लाखभन्दा बढी नक्कली रुपैयाँ फेला परेको थियो । प्रहरीले नोट छाप्ने मेसिन पनि बरामद गरेको छ । यसैगरी छाप्नका लागि प्रयोग गरिने विभिन्न खालका रङहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

हजार दरका ४ लाख ७० हजार, ५ सय दरका १ लाख ४१ हजार, १ सय दरका १९ हजार, ५० दरका ६ सय र २० दरका नोट ४ वटा बरामद गरिएको प्रहरीले जनाएको छ ।

झापा जिल्ला अदालतबाट म्याद थप गरी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.