विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले साताव्यापी कार्यक्रम घोषणा गरेको छ । संघले ५२ औं स्थापना दिवसको अवसरमा असार ४ गते बुधबारदेखि १० गतेसम्म विविध कार्यक्रम गर्ने भएको हो ।
विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष देशबन्धु ढकालले २०३० मा स्थापना भएको संघले औषधि व्यवसायको प्रवर्धन, अनुशासन र सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको बताए । प्रत्येक वर्ष असार १० गते मनाइने स्थापना दिवसलाई यसपटक विशेष बनाउन सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाइ छ ।
औषधि व्यवसायी केवल व्यापारिक गतिविधिमा मात्र सीमित नरहेर समुदायिक स्वास्थ्य सेवा र सामाजिक कल्याणमा योगदान पुर्याउने काममा पनि सक्रिय रहेको ढकाल बताउँछन् । साताव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन असार ४ गते विराटनगरस्थित कोशी अस्पतालको बाल विभाग तथा कुपोषण शाखामा फलफूल वितरण गरिने छ ।
असार ५ गते विराटनगरस्थित हिमालय दर्शन कलेजमा लागुऔषध र मनोदीपक औषधि सम्बन्धी जनचेतनामूलक कार्यक्रम, ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा लागुपदार्थ परीक्षण किट हस्तान्तरण र असार ७ गते विराटनगर महानगरपालिका– ८ स्थित विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम राखिएको छ ।
असार ८ गते संघको भवन विराटनगरमा वरिष्ठ औषधि व्यवसायी तथा सामाजिक योगदानकर्ताहरूको सम्मान कार्यक्रम राखिएको छ । असार ९ गते हस्पिटल चोक विराटनगरमा रक्तदान र असार १० गते बिहान ७ बजे हस्पिटल चोकदेखि संघको भवनसम्म प्रभातफेरी कार्यक्रम हुने ढकालले बताए ।
उनका अनुसार असार १० गते नै बिहान ९ बजे झण्डोत्तोलन र औपचारिक समापन समारोह तथा साँझ दीप प्रज्वलन कार्यक्रम राखिएको छ । विभिन्न कार्यक्रमका लागि संयोजकसमेत तोकिएको छ ।